स्रष्टा परिचय : आठपरियाका प्रा.डा. बाहुन

SITENAME

 

प्रा. डा. टङ्कप्रसाद न्यौपाने

काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक गुरु बिहानै इटहरीको जनता बहुमुखी क्याम्पसमा भाषाविज्ञान र पत्रकारिता पढाउन पुग्छन् । दिउसो हतारमै सार्वजनिक बस चढेर धरान आइपुग्छन् र, विद्यार्थीका थेसिस, कविता चाङ वा साहित्यिक पाण्डुलिपिमाथि सल्लाह दिन्छन् । फेरि दिनको दुई नबज्दै इटहरी क्याम्पसमा एमएड पढाउन हतारिंदै बस चढिहाल्छन् । र, साँझ साढे छ बजेतिर धरान, विजयपुर डाँडोको घर पुग्छन् । गोजीमा बोकेको अलिकति सोमरस घरको छतमै बिसेर पिउँछन्—तनाव र थकाइ मेट्ने बहानामा ।धरानको शारदा बालिका विद्यालयबाट २०२६ सालमा शिक्षणमा प्रवेश गरेका उनी २०३२ सालदेखि भैरहवा क्याम्पस मार्फत त्रिविमा प्राध्यापनमा छिरेका हुन् । न्यौपानेले भैरहवामा पढाएका कुबेरसिंह राना आईजी भएर अवकाश लिइसकेका छन् भने भोजपुर बहुमुखी क्याम्पसमा मेजर नेपाली पढाएकी छात्रा विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छिन् । भोजपुरमै पढाएका दुर्जकुमार राई सशस्त्र प्रहरी बलका आईजी र शंकरप्रसाद कोइराला अर्थमन्त्रीसम्म भए । तर, टंक गुरु भने जहींको तहीं । ‘मास्टरी कर्ममा सामाजिकीकरण हुने भएकाले आत्मानन्दको अनुभूति हुने’ आफ्नै राय छ डा.न्यौपानेको ।

६५ वर्षीय प्राध्यापक टंकप्रसादसँग मोफसलकै चल्तापुर्जा भाषावैज्ञानिकको पहिचान पनि छँदैछ । अचम्मलाग्दो के छ भने उनी ‘जीवनमा थकाइ कहिलै हुँदैन’ भन्छन् । कविवर माधव घिमिरेको कविताजस्तै, ‘सूर्यास्त कैल्यै नहुने हिमाद्रि, मैलाई खोज्ने युगको म यात्री, अहो अविश्रान्त बढेर जाऊँ, कहाँ किनारा यसको म पाऊँ ।’

धनकुटा, चुङमाङ–३ मा जन्मिएका न्यौपाने एक वर्षकै उमेरमा मातृ वात्सल्यविहीन भएका थिए । छिमेकी मायादेवी दाहालको स्तनपान गरेर उनी हुर्किएका रहेछन् । आफूलाई स्तनपान गराउने मायादेवीलाई उनी आमासरह मान्छन् । बाल्यकाल सम्झँदै उनी भन्छन्, ‘त्यसमाथि टाइफाइडका कारण मेरा पिता हरिप्रसाद न्यौपाने शारीरिक रूपले लुलोलङ्गडो हुनुभएको थियो । पिताले अनेक हन्डर बेहोर्दै धनकुटाबाट धरान झरेर बजारका घर–घरमा भिक्षा माग्दै मेरो पालनपोषण गर्नुभएको थियो । केहीपछि मेरा पिता पिण्डेश्वर मन्दिरमा जोगी–संन्यासी र लुलालङ्गडालाई दिइने हन्डीको शरणमा पर्नुभएको थियो । मलाई पिण्डेश्वर संस्कृत महाविद्यालयमा भर्ना गरिएको थियो । म भने मन्दिरमा पुजारीले चढाएको एक बटुको भातको भोग खाएर जीवन धानिरहेको थिएँ ।’

बाल्यकालमा निकै चलाख दरिएका थिए टंकप्रसाद । तर, पिताको दयनीय अवस्थाका कारण विद्यालयले दिएको सहयोगमा उनले पढाइ जारी राख्न पाए । पिण्डेश्वरमा आउने ठूलाबडाले उनको प्रतिभा देखेर प्रोत्साहनस्वरूप किताब–कपी वा आनासुकी पैसा दिने गर्थे । पिण्डेश्वर भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले ‘नानी, तिम्रो र मेरो नाम मिलेछ’ भन्दै चक्रवर्ती अंकगणितको किताब किनिदिएका रहेछन् । विद्यार्थीकालदेखि नै प्रजातन्त्र पक्षधर न्यौपाने शारदा बालिका विद्यालय, धरानमा शिक्षक रहेकै बेलामा पञ्चायतविरुद्ध पर्चा लेखेको अभियोगमा तीन वर्ष जेल परेका थिए । न्यौपानेले २०२३ सालमा पिण्डेश्वर संस्कृत महाविद्यालयबाट शास्त्री गरेका थिए । पछि जेलमा छँदै २०२७ सालमा नेपालीमा एमए उत्तीर्ण गरेका थिए । जेल छँदै ‘प्रेयसीलाई चिठी’ नामको काव्य पनि लेखेका थिए । केन्द्रीय जेल (काठमाडौं) मा बस्दाको संयोग कस्तो भने उनको लेखाइको पहिलो पाठक सन्त नेता कृष्णप्रसाद भट्टराई हुने गर्थे । अर्को दु:खान्त संयोग के भने उनी जेलबाट त छुटे तर विद्यालयको जागिर पनि छुट्यो । जागिर खोजीमा भौंतारिरहेका न्यौपानेले २०३२ मा भैरहवा क्याम्पसमा सहायक प्राध्यापकको नियुक्ति पाएका थिए ।

भैरहवा, भोजपुर, धनकुटा, गोरखा, धरानमा प्राध्यापनरत हँुदै न्यौपाने महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट सेवानिवृत्त भएका हुन् । आफू बाहुन र अझ विशेषत: संस्कृतको विद्यार्थी भए पनि ‘आठपरिया भाषा’ मा विद्यावारिधि गर्न पाएकोमा उनी गर्व पनि गर्छन् एकैसाथ । ‘नेपालका अन्य भाषाको विकासमा नेपाली भाषाको पनि समृद्धि जोडिएको छ’ भनेरै आफूले आठपरिया राई भाषामा विद्यावारिधि गरेको उनले सुनाए । ‘आठपरिया राईको भाषिक अध्ययन’ माथि २०५८ सालमा त्रिविबाट पीएचडी गरेका हुन् । अल्पसंख्यक र लोपोन्मुख भाषाको संरक्षण–संवद्र्धनका निम्ति भनेर न्यौपानेले लोहोरुङ भाषा (संखुवासभामा हुने जाति) को व्याकरण पनि लेखेका छन् । प्राय: हरेक विषयमा मौलिक चिन्तन दिन चाहने न्यौपाने ‘आधुनिक भाषाविज्ञानका कतिपय मान्यतालाई पूर्वीय वाङ्मयकै अनुकूलन’ भनेर प्रमाणित गर्न चाहन्छन् ।

न्यौपानेका साहित्यको रूपरेखा, नेपाली ध्वनिशास्त्र (सहलेखन), भाषाविज्ञानको रूपरेखा, भाषाविज्ञानका प्रमुख सिद्धान्त, व्यावहारिक नेपाली व्याकरण, मानक नेपाली व्याकरण र कार्यमूलक लेखन आदि झन्डै एक दर्जन पुस्तक प्रकाशित छन् । नेपालेली (उनको शब्द) भाषा, व्याकरण, साहित्य र प्राध्यापनमा गरेको दीर्घसाधनाका निम्ति डा.न्यौपानेले सेवा पदक, दीर्घ सेवा पदक, नेपाल विद्याभूषण ‘क’, भानुभक्त स्वर्ण पदक, डा. गणेश भण्डारी स्मृति पुरस्कार, प्रथम सार्क भाषा पुरस्कार, डा. नरेन्द्र चापागाईं स्मृति पुरस्कार लगायतका सम्मान पाएका छन् । डा.टंकमा कुनै अहम् छैन । सरलता, शालीनता र क्रियाशीलता उनका आदर्श हुन् । अत्यन्तै निम्नवर्गीय धरातलबाट माथि उठेका स्वनिर्मित व्यक्तित्व प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई मोती जयन्तीको सन्दर्भ पारेर धरानमा नागरिक अभिनन्दन पनि गरिएको थियो । अचेल न्यौपाने धरानकै देश सुब्बाबाट प्रतिपादित भयवाद दर्शनलाई प्रवद्र्धन गर्न भयवाद अध्ययन केन्द्रका अध्यक्ष बनेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

कविता : बादल

  ~शरद पोख्रेल~ बादल लाग्नु बादलले छोप्नु अँध्यारो हुनु। ए मान्छे किन तिम्रो गुनासो ममाथि रहिरह्यो यी कुरामा ? तर आज उभियो मेरो छायाँमा एउटा एक्लो

SITENAME

खै मेरो प्रजातन्त्र ?

  एउटा निशब्द कहालीलाग्दो कालारात्रीको जन्जिर भित्र रुमल्लिएका कैयन जिन्दगीहरु रैतीको नाममा बन्दी बनाइएका कैदीहरु फाटेको जिन्दगीलाई टाल्ने