Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

आजदेखि रक्सौल डिपोले पनि तेल दिने, सुनौली नाका भएर भित्रिँदै

७ पुस, काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले सोमबारदेखि नेपाललाई रक्सौल डिपोबाट हवाइ इन्धन दिन सुरु गर्दैछ । वीरगञ्ज नाका सञ्चालनमा नआए पनि अन्य नाकाबाट लैजान सक्ने गरी आइओसीले सोमबार नेपाली ट्यांकरलाई हवाइ इन्धन लिन रक्सौल बोलाएको छ ।

रक्सौलमा हवाइ इन्धन लिन सोमबार केही नेपाली ट्यांकर रक्सौल जाने नेपाल आयल निगमले जनाएको छ ।

‘रक्सौल डिपोबाट हवाइ इन्धन दिने भनेपछि आज केही ट्यांकर पठाउँदैछौं । आजको लोडिङ हेरेर अब हवाइ इन्धन रक्सौलबाट ल्याउन सुरु गरिन्छ,’ नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरसँग भने ।

रक्सौल डिपोमा भरिएको तेल वीरगञ्ज नाकाबाट ल्याउन सम्भव नभएपनि सुनौलीबाट ल्याउन सकिने निश्कर्ष निकाल्दै नेपाल आयल निगमले रक्सौल डिपोबाट तेलको लोडिङ दिन आइओसीलाई अनुरोध गरेको थियो । आइओसीले पहिलो चरणमा रक्सौलबाट हवाइ इन्धन मात्रै दिन लागेको निगमका प्रवक्ता घिमिरेले जानकारी दिए ।

असोज ६ गतेपछि मधेसी मोर्चाको अवरोधका कारण नेपाललाई सबैभन्दा बढी तेल दिने रक्सौल डिपोले नेपाली ट्यांकरलाई लोड दिएको छैन । आइओसीले रक्सौल डिपोबाट दिनको ७/८ ट्याकंर हवाइ इन्धन पनि तेलको दिने आश्वासन दिएको छ ।

रक्सौलमा मौज्दात रहेको ७ हजार किलोलिटर हवाइ इन्धन दिन आइओसी तयार भएको छ । आज रक्सौलमा लोड हुने हवाइ इन्धन सुनौली नाका हुँदै नेपाल ल्याइने छ ।

देशभर अहिले ३ हजार ४९ किलोलिटर हवाइ इन्धन मौज्दात छ । माघको ४ गतेसम्म पेट्रोलिमेक्सले भारतबाट एयरलिफ्ट मार्फत हवाइ इन्धन ल्याउने सम्झौता छ । रक्सौलबाट पनि हवाइ इन्धन आउने भएकाले त्यसपछि पेट्रोलिमेक्ससँग तेल किन्न छाड्ने प्रवक्ता घिमिरेले बताए ।

काठमाडौंमा मात्रै अहिले २ हजार ४ सय किलोलिटर हवाइ इन्धन मौज्दात छ । आन्तरिक उडानका लागि दैनिक ६० किलोलिटर इन्धन खपत हुने गरेको छ ।

भारतको नाकाबन्दीपछि नेपाललाई आइओसीको सिलगुढी, बरौनी, गोण्डा, बेतालपुर र वनथरा डिपोले मात्रै तेल दिइरहेका छन् ।

भारतीय पक्षको अवरोधका कारण यी डिपोबाटै ल्याएका तेल पनि नाकामै रोकिने गरेका थिए । तर, केही सातादेखि भारतीय नाकाको अवरोध खुकुलो भएको छ ।

मुख्य डिपो रक्सौल नै भएकाले त्यहाँबाट तेल भरेर सुनौलीबाट ल्याउन निगमले पहल गरेको हो । तर, रक्सौलबाट हवाइ इन्धन दिएपनि तत्काल डिजेल, पेट्रोल र मट्टितेल दिन भारतीय पक्ष इच्छुक देखिएको छैन ।

कसरी आउँदैछ रक्सौलबाट तेल ?

 

निगमका अधिकारीहरुका अनुसार रक्सौलमा भरिएको तेल सुनौलीबाट ल्याउन ल्याइनेछ । भैरहवाबाट भित्रिएको तेल काठमाडौं ल्याउन पनि सजिलो छ ।

रक्सौलमा तेल भर्ने ट्यांकरले भारतको राष्ट्रिय राजमार्ग-२८ बी भएर रक्सौलबाट सुनौली ल्याउन सक्छन् ।

यो बाटोबाट दुई भन्सारको दुरी २ सय २ किलोमिटर छ । रक्सौलबाट बगाह र खड्डा हुँदै यो राजमार्ग सुनौलीसँग जोडिन्छ ।

यस्तै रक्सौलबाट सुनौली जाने अर्को राजमार्ग पनि छ । जसको नाम राष्ट्रिय राजमार्ग-२९ हो । रक्सौलबाट सुगौली पुगेर कम्पिरागञ्ज हुँदै सुनौली आउन २ सय ६० किलोमिटरको दुरी छ । यी दुई मध्ये एक राजमार्ग भएर रक्सौलबाट तेल नेपाल आउने सम्भावना रहन्छ ।

वीरगञ्ज नाका सुचारु नभएसम्म रक्सौलबाट तेल ल्याउन सुनौली नाका उपयुक्त हुने आयल निगमको ठहर छ ।

 

ON AIR

UP NEXT

Back to Top