Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

राजनैतिक स्थायित्व कायम गरी आर्थिक समृद्धि तर्फ अगाडी बढ्नु पर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष दहाल

माघ ११ । राजनैतिक स्थायित्व कायम गरी आर्थिक समृद्धि तर्फ अगाडी बढ्नु पर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले बताउनु भएको छ । रुपन्देहीको देवदहमा चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को उद्घाटन गर्दै अध्यक्ष दहालले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष दहालले स्थायी सरकार नहुदा विकासले फड्को मार्न नसकेको भन्दै वाम गठवन्धनलाई जनताले दुईतिहाई बहुमत दिएकोले अवको सरकार स्थायी हुने दावी गर्नु भयो । उहाले देवदह बुद्धको मावली थलो एवं लुम्बिनी संग जोडिएको ऐतिहासिक स्थल भएकाले यो ठाउं राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परिचित रहेकाले यहां पर्यटन विकासको प्रचूर संभावना रहेको औंल्याउनु भयो । पुर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दहालले संभावनाको हिसावले भारत र चिन भन्दा नेपाल अगाढि रहेको बताउदै अव बन्ने वाम गठवन्धन सरकारले देशलाई समृद्ध राष्ट्र निर्माण संगै आर्थिक विकास तर्फ लैजानेमा जोड दिनु भयो । अध्यक्ष दहालले देवदहमा लुम्बिनी वौद्ध विश्व विद्यालय स्थापनाको प्रकृया अघि बढेकाले विश्व विद्यालय स्थापना संगै यहांको विकासले गति लिने बताउनु भयो । लुम्बिनी विश्वभरकै बौद्धमार्गीहरुका लागि धार्मिक पर्यटनको केन्द्र बन्दै गएको उल्लेख गर्दै दहालले देवदह सहित रामग्राम, तिलौराकोट र बुद्धसंग सम्बन्धित भारतका शहर समेतलाई जोडेर बुद्ध सर्किट बनाई विदेशी पर्यटकलाई नेपालमा तीन दिन र समग्र बुद्ध सर्किटमा एक हप्ता भ्रमण गराउन सकिने औंल्याउनु भयो । उहाले भगवानपुर देखि पाल्पाको गाठादी जोड्ने बाटोको विकास गर्न सरकार र आफुहरुले समेत पहल गर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्लालाई नमुनाको रुपमा विकास गर्ने गरी अव बन्ने सरकार लागि पर्नेमा जोड दिनु भयो । पुर्वअर्थमन्त्री समेत रहनु भएका नेता पौडेलले तिनै तहको निर्वाचन संगै राजनैतिक क्रान्ति सम्पन्न भएकोले अवको बाटो आर्थिक क्रान्ति रहेको बताउनु भयो । महोत्सव मूलआयोजक समितिका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाक, नेकपा एमालेका पोटिव्यूरो सदस्य छविलाल विश्वर्मा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय अध्यक्ष श्याम पाठक, प्रदेश सांसदद्धय वलदेव शर्मा पोखरेल, डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री लगायतले बोल्नु भएको थियो । सहसंयोजक गणेशकुमार खातीको स्वागत र सचिव प्रशान्त गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

म्युजिक टाइम

UP NEXT

क्यापिटल न्युज

Back to Top